Tuesday, July 14, 2009

माओवादीको असहिष्णुता सत्ताको झोँक - प्रधानमन्त्री

काठमाडौं -प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारप्रति एकीकृत नेकपा (माओवादी) ले देखाएको असहिष्णुता उनीहरूले सत्ता छोड्नुपरेको झोँकमात्र भएको बताउनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय सम्पर्क समन्वय कमिटीको आयोजनामा आज पार्टी कार्यालय, बल्खुमा अञ्चल सर्म्पर्क सङ्गठन कमिटी र जिल्ला सर्म्पर्क मञ्चहरूका पदाधिकारीहरूको केन्द्रीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
माओवादीका नेताहरूभित्र कुराकानी गर्दा आफूलाई संविधानसभा सदस्य बन्नु अपरिहार्य भन्छन् तर बाहिर तथानाम गाली गर्छन् भन्दै उहाँले "पार्टीबाट मलाई संविधानसभामा नलाने निर्णय गर्दागर्दै पनि चिठ्ठी लेखेर र घरमै आएर सदस्य बनिदिन उनीहरूले आग्रह गरेका हुन्" भनी स्पष्ट गर्नुभयो ।
संविधानसभामा सबै ६०१ सदस्यको बराबर हक छ, आफ्नै अयोग्यताले माओवादीहरूले सरकार छाडेकाले स्वाभाविक र लोकतान्त्रिक विकल्पका रूपमा यो सरकार आएको बताउँदै प्रधानमन्त्री नेपालले भन्नुभयो- "तर ३५९ सदस्यको सहयोग र र्समर्थनबाट आएको यो सरकारलाई उहाँहरूले सहन सक्नुभएको छैन ।"
प्रधानमन्त्री नेपालले आफूबाट पार्टीको छवि घट्ने गरी कुनै काम नहुने स्पष्ट गर्दै सबै नेपालीको मर्यादा उच्च राख्ने गरी काम गर्ने पनि बताउनुभयो ।
(स्रोत रासस)