Thursday, March 11, 2010

राजनीतिक रुपमा त गिरिजाबाबुले मलाई त समाप्तै गर्न खोज्नुभएको हो :खुमबहादुर खड्का


खुमबहादुर खड्का, नेता नेपाली कांग्रेस नेपाली कांग्रेसका शक्तिशाली नेता खुमबहादुर खड्का यतिबेला राष्ट्रिय चर्चाको शिखरमा हुनुहुन्छ । कांग्रेसका कर्मठ, जुझारु र क्रान्तिकारी नेता खड्का दुईपटक गृहमन्त्री भइसक्नुभएको छ ।
Q.
हिन्दु राष्ट्र घोषणा गराउने एजेन्डामा ज्ञानेन्द्र, गिरिजाबाबु, प्रचण्ड, खुमबहादुर सबैको कुरा मिल्छ ?
A.
हिन्दु राष्ट्र घोषणा गराउने एजेन्डामा नेपाली जनताकै कुरा मिल्छ ।
Q.
हिन्दु राष्ट्र घोषणा गराउने अभियानमा सफल हुनुहुन्छ त ?
A.
हिन्दु राष्ट्र घोषणा गराउने अभियान सफल हुन्छ ।
Q.
यो अभियानमा पूर्व राजा ज्ञानेन्द्रको पनि साथ रहन्छ ?
A.
उहाँ पनि हिन्दु हो । उहाँलाई पनि हिन्दु राष्ट्र घोषणा चाहिएको छ । यसमा सबैको सहयोग चाहिन्छ । कृष्णप्रसाद भट्टराई पनि बोल्नुभएको छ, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कमल थापा, पशुपतिशमशेर, गिरिजाबाबु, प्रचण्ड र माधवकुमार नेपालको सबैको सहयोग चाहियो नि ।
Q.
प्रचण्डको पनि हिन्दु राष्ट्र घोषणा गराउने अभियानमा सहमत होलान् ?
A.
आउनुपर्छ । जनताको भावना कसले कुल्चन सक्छ ?
Q.
हिन्दु राज्यका बारेमा तपाईंको र ज्ञानेन्द्रको कुरा त मिल्यो नि ?
A.
मैले त पहिल्यै नै भनिसकेको छु, यो धर्म निरपेक्षताको घोषणा नै गलत थियो । जनमत संग्रहबाट गरेको भए राम्रो हुन्थ्यो । जहाँ ८०, ८५ प्रतिशत हिन्दु छन्, त्यहाँ धर्म निरेपक्षताको घोषणा गरेर नेताहरुले खेलवाड गरेका छन् । त्यसमा मेरो सहमति थिएन र छैन । यो देशलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । सकेसम्म निरपेक्षता जस्तै हिन्दु राष्ट्र घोषणा गराउने हो, नभए जनमत संग्रहबाट गराउने ।
Q.
पशुपतिमा राजा ज्ञानेन्द्रसँग तपाईंको केके कुराकानी भयो ?
A.
हत्तेरी, यज्ञमा भेट भएको हो । कहाँ ज्ञानेन्द्रसँग भेट मागेको हो र ? उहाँ पनि आउनुभयो, म पनि गएको थिएँ । यज्ञमा भेट भयो । त्यत्ति हो ।
Q.
साँच्चै यसमा जनताले साथ देलान् त ?
A.
नेपाली जनताको साथ नभएको भए बाबाकहाँ यस्तो भीड लाग्थ्यो ? यसबाट मापन हुँदैन र ?
Q.
काली बाबा र ज्ञानेन्द्रबीच विशेष सम्बन्ध छ भन्छन् नि ?
A.
त्यो मलाई थाहा छैन । त्यो उहाँहरुको कुरा हो । मलाई के थाहा ?
Q.
तपाईंको सम्बन्ध चाहिँ कस्तो छ ?
A.
कालीबाबासँग मेरो सम्बन्ध राम्रो छ ।
Q.
तपाईं कालीबाबालाई किन मान्नुहुन्छ ?
A.
उहाँमा जुन शक्ति छ, मैले त्यसैलाई मानेको हुँ ।
Q.
कालीबाबासँग त्यस्तो शक्ति के छ ?
A.
केही नखाएर, पानी नपिएर जसले यज्ञ गरिरहेको छ, ऊसँग शक्ति नभएर कोसँग हुन्छ ? उहाँको यज्ञ पूरा हुने कुरामा म विश्वस्त छु ।
Q.
बाबाहरुमा तपाईंले सबैभन्दा मान्ने को हो ?
A.
बाबाहरुमा मैले सबैभन्दा मान्ने कालीबाबा नै हो ।
Q.
पहिलेदेखि नै भेटघाट थियो उहाँसँग ?
A.
पहिले बाबाहरुप्रति मेरो कुनै आकर्षण थिएन । कालीबाबासँग मेरो चिनचान भएको एक वर्ष भयो । पहिलो भेटबाटै म आकषिर्त भएँ ।
Q.
औठी पनि खुब लगाउनुहुँदो रहेछ ?
A.
साइबाबाले दिनुभएको हो ।
Q.
साइबाबाबाट पनि प्रभावित हुनुहुन्छ ?
A.
एकदमै । नहुने कुरै भएन ।
Q.
राजतन्त्र फर्काउन त तपाईंले मुभ गरेको होइन ?
A.
राजतन्त्र फर्काउन होइन, हिन्दु राष्ट्र हुनुपर्छ भनेर हो ।
Q.
राजतन्त्र फर्काउन खुमबहादुर र ज्ञानेन्द्र मिले भनिँदै छ नि ?
A.
भने होलान् । भन्नेको मुख कसले थुन्न सक्छ ? माओवादीले राजा राष्ट्रवादी भन्दा केही नहुने, खुमबहादुरले यहाँ एउटा यज्ञमा राजालाई भेट्दा प्रलय हुन्छ भने मैले के भन्ने ?
Q.
ज्ञानेन्द्र र्फकन्छन् किन र्फकदैनन् त ?
A.
जनताले चाहे र्फकने हो, नचाहे के र्फकने ?
Q.
तपाईंले आधा घण्टा कुरा गर्नुभयो रे ?
A.
होइन, होइन । खास केही कुरा भएको होइन ?
Q.
गोप्य कुराकानी गरेपछि तपाईंले टाउको हल्लाउनुभएको होइन ?
A.
होइन, होइन । गोप्य कुरा पनि त्यस्तो ठाउँमा होला त ?
Q.
कांग्रेस महाधिवेशन हुन्छ त ?
A.
हुन्छ भन्दा पनि होइन गर्नुपर्छ । वैशाखको अन्तिमसम्म गर्नुपर्छ भनेकेा थिएँ मैले । पदाधिकारीबाट जेठ २७ गतेको प्रस्ताव आएको छ । त्यसलाई म समर्थन गर्छु ।
Q.
महाधिवेशनमा सभापतिमा उठ्नु होला नि ?
A.
मैले निर्णय गरिसकेको छैन । कार्यकर्ता साथीभाइसँग सल्लाह गरेर निर्णय गर्छु ।
Q.
पार्टीलाई व्यापक शुद्धीकरण गर्नुपर्दैन ?
A.
पार्टीलाई शुद्धीकरण गर्ने होइन, सुदृढ बनाउने हो । यो चालाले त पार्टी खत्तमै हुन्छ । पहिले नेपाली कांग्रेस वरिपरि मुलुकको राजनीति घुम्थ्यो भने अहिले माओवादी बोलेपछि त्यसको पेरिफेरिमा अरु पार्टी घुम्ने गरेका छन् । म कांग्रेसले बोलेपछि अरुले सुनुन् भन्ने चाहन्छु ।
Q.
भनेपछि परिआए नेतृत्व लिन पछि हट्नु हुँदैन ?
A.
यसमा पछि हट्ने भन्ने कुरै छैन । पहिले त कार्यकर्ता साथीहरुले चाहनुपर्‍यो ।
Q.
शेरबहादुर देउवा र सुशील कोइराला तपाईंको सिनियर, जुनियर के हुन् ?
A.
उमेरको हिसाबले सुशील दाइ नै सिनियर हुनुभयो । राजनीतिक रुपले भन्ने हो भने शेरबहादुर सिनियर हुन् जस्तो लाग्छ । सुशील दाइसँग २०२९ सालमा चिनजान भएको हो मेरो । शेरबहादुरजीसँग २०२७ सालमै नेविसंघको पहिलो महाधिवेशन हुँदा भेटेको हुँ । को जुनियर, को सिनियरभन्दा पनि कसले पार्टीलाई अघि बढाउन सक्छ भन्ने कुरा हो । तर, राजनीतिक त्यागका हिसाबले भने म नै सिनियर हुँ । निर्वासन, जेलदेखि पार्टी काम पनि उहाँहरुले भन्दा मैले नै बढी गरेको छु । राजनीतिमा को पहिले लागे भन्ने मलाई थाहा छैन । मैले चाहिँ २०२३ मा डिएसवाइएलको सदस्यता लिएको हुँ ।
Q.
शेरबहादुर देउवासँग तपाईंको सम्बन्ध कस्तो छ ?
A.
राम्रो छ । राम्रंो छ ।
Q.
देउवाले पार्टीलाई राम्रोसँग हाँक्नु होला ?
A.
सम्बन्ध राम्रो हुनु एउटा कुरा हो । पार्टी हाँक्ने कुरा अर्को भयो । यसबारे उहाँलाई नै बढी थाहा छ । तीनचोटि प्रधानमन्त्री भइसक्यो । कांग्रेस प्रजातान्त्रिकको पनि सभापति हुनुभयो । मूल्यांकन कार्यकर्ताले गर्छन् ।
Q.
तपाईं सभापति नलड्ने, उपसभापति र महामन्त्रीमा लड्ने ताकमा हुनुहुन्छ रे ?
A.
सभापतिमा लडिनँ भने बरु सदस्यमै लडुँला । तर, म महामन्त्रीमा लड्दिन । लड्नैपर्छ भन्ने पनि के छ र ? ८, १० वर्ष पार्टीले माइनस गरे पनि मेरो के बिगि्रयो र ? कार्यकर्ताले पक्कै पनि यसलाई बुझेका छन् । प्रजातान्त्रिक कांग्रेसमा महामन्त्री भइसकेकै हुँ ।
Q.
देउवा र सुशीलमा तपाईंको समर्थन कसलाई ?
A.
कसैलाई छैन । मेरो समर्थन र विरोध दुवै छैन ।
Q.
कांग्रेसमा दुईजनाबाहेक अरु को आउला ?
A.
खोइ को छ त्यस्तो ? केबी गुरुङ, प्रकाशमान, रामचन्द्र, नरहरिजीको नाम पनि सुनेको छु ।
Q.
कांग्रेसको भविष्य अन्धकार छ भन्छन् नि ?
A.
कसले गर्दा भयो त्यो । तपाईं जोसँग निकट भएर रहनुभयो, उहाँहरुले गर्दा भयो ।
Q.
गिरिजाबाबुकै कारण हो त ?
A.
यसमा शंकै छैन । यसमा उहाँले नैतिक जिम्मेवारी लिनैपर्छ । त्यसमा हामी पनि दोषी हौं । मुलुकले निकास पाउँछ भनेर हामीले म्यान्डेट दिएको हो । ल्यान्डिङ ट्याक्टफुली हुन नसकेकाले कांग्रेसको यस्तो हालत भयो ।
Q.
तपाईं युद्धको पक्षमा कि शान्तिको पक्षमा ?
A.
शान्तिको पक्षमा ।
Q.
माओवादीले त शान्ति र संविधानका लागि सत्ता मागेकेा छ नि ?
A.
माओवादीलाई सत्ता चाहिएको भए संसदमा बहुमत पुर्‍याए हुन्छ । शान्ति दिन्छु भन्यो भन्दैमा गुण्डालाई सत्ता सुम्पने त ? यदि उसले जनगणतन्त्रमा जाने सोचेको छ भने त्यो कहिल्यै विपना दिइँदैन ।
Q.
अब के हुन्छ त ?
A.
माओवादीको लडाकु समायोजन नभई संविधान जारी हुँदैन । संविधानसभाले १४ जेठमै संविधान जारी गर्नुपर्छ । त्यसमा संविधान नआए म्याद थप्न मिल्दैन । त्यसपछि म्याद थप्ने होइन, फेरि संविधानसभाको चुनाव हुनुपर्छ ।
Q.
संविधान जारी नभए दोष कसलाई जान्छ ?
A.
जिम्मा त लिनुपर्छ नि नेताहरुले । सबै टेस्टेड हुन् । यहाँ को सफल नेता छ र ? प्रचण्ड नौ महिना प्रधानमन्त्री भएकै हुन् । विद्यार्थी नेताजस्तो रबैया देखियो । माधवकुमार नेपालको बारेमा के कमेन्ट गर्ने ?
Q.
गिरिजाबाबुसँग तपाईंको धेरै गुनासो छन् है ?
A.
गुनासो होइन, गिरिजाबाबुप्रति मेरो आदर र श्रद्धा छ । तर राजनीतिक रुपमा त गिरिजाबाबुले मलाई त समाप्तै गर्न खोज्नुभएको हो ।
Q.
तपाईंलाई गृहमन्त्री बनाउने कुरा पनि थियो ?
A.
मलाई मन्त्रीको के रहर छ र ? मैले दुईपटक मन्त्रीबाट राजीनामा दिएको हुँ । कतिफेर गृहमन्त्री हुने ? भए एकपटक प्रधानमन्त्री हुने हो । मेरो न दरबारसँग सम्बन्ध, न भारतसित सम्बन्ध न अमेरिकासँग, न चीनसँग सम्बन्ध न युरोपियन युनियनसँग । भाग्य भएको भए शेरबहादुरको पालामा मै प्रधानमन्त्री हुन्थेँ नि । राष्ट्रवादी र इमानदार मान्छे को अघि बढेको छ नेपालमा ? यो सतीले सरापेको देश हो ।