Wednesday, December 05, 2012

बाई भीमबहादुर दाइ ==== अर्जुननरसिंह के.सी.

आफ्नो गृह जिल्ला नुवाकोटको पार्टी आमसभामा पुग्न घरबाट निस्केको म, त्यो बिहान अनायास भीमबहादुरजीको दुःखद् निधनको खबर आएपछि बाटोबाटै फर्केर शोकमा सामेल हुन पुगें। केही दिनअघिमात्र फोनमा लामो कुराकानी गरेको मैले अप्रत्याशितरुपबाट एकाबिहानै उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली चढाउने अवस्था आयो। नेपाली काँग्रेस, लोकतान्त्रिक आन्दोलन र अन्य पार्टीमा समेत लोकप्रिय नेता र निष्ठाको राजनीतिका एक महान् तपस्वी भीमबहादुर तामाङ मंसिर १६ गते हामीबाट बिदा हुनुभयो। सिङ्गो नेपाली काँग्रेस यतिबेला उहाँको निधनका कारण शोकमग्न छ। पार्टीले असल नेता गुमाएको छ भने लोकतान्त्रिक आन्दोलनले महान् सेनानी र राष्ट्रले एक अतुलनीय निधि गुमाएको छ। भीमबहादुरजी विरासतमा प्राप्त राजनीतिका भाग्यमानी नेता हुनुहुन्थेन, निरन्तर क्रियाशीलता र समाजसेवा गरेर कमाएको ख्याति, लोकतान्त्रिक आन्दोलनमा अविचलित र संघर्षशील भएर पाएको सम्मान र मूल्य, मान्यता तथा निष्ठाको राजनीति तथा त्यागबाट आर्जित साख र जनविश्वासको नैतिक धरातलमा धुलो-माटोबाट हुर्किएर स्वाभिमानी जीवन बाँच्नुभएका नेता हुनुहुन्थ्यो। 'ठूलो मान्छे होइन असल मान्छे बन' भन्ने जननायक बीपी कोइरालाको मान्यता वा कार्ल मार्क्सले 'सादगी सर्बोच्च मानवीय गुण हो' भनेको यथार्थको प्रतिविम्ब उहाँमा देख्न सकिन्थ्यो। वास्तवमा उहाँको 'सादा जीवन, उच्च विचार' समकालीन समाजका लागि आफैँमा उदाहरणीय सन्देश थियो। नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद उहाँले आफ्नै जीवनशैलीमा अमल गर्नुभएको थियो। २०१३ सालमा नेपाली काँग्रेसमा प्रवेश गरेपछि पार्टीले गरेको सत्याग्रह तथा भद्र अवज्ञा आन्दोलनको संस्कार उहाँले एक सत्याग्रहीको स्वरुपमा जीवनभर अपनाउनुभयो।
मैले भीमबहादुरजीलाई कहिले चिनेँ, यकिन छैन्। २०२६-२७ सालतिर जस्तो लाग्छ, जुन बेला म एमएको विद्यार्थी थिएँ। तर त्यसपछिका दिनमा उहाँलाई मैले नजिकैबाट बुझ्ने अवसर पाएको छु। उहाँसँग मैले आत्मीय र खुला दिलले दुःखसुखका कुरा, जीवन र जगत, राजनीति र राष्ट्रिय-अन्तर्राष्ट्रिय परिवेशबारे संवाद गरेको छु। आफ्नो गृहजिल्लाका कार्यक्रममा उहाँलाई धेरैपटक विशिष्ट अतिथिका रुपमा लगेको छु र उहाँको गृहजिल्लामा पनि धेरैपटकका कार्यक्रममा उहाँसँगै सहभागी भएको छु। उहाँको जीवन त्याग र संघर्षमै बित्यो, जसलाई उहाँले जीवन बुझ्ने अवसरका रुपमा लिनुभएको देखिन्थ्यो। समाज-प्रेम, गरिब-प्रेम, गाउँ-प्रेम, पुस्तक-प्रेम, विचार-प्रेम, बारी-बगैँचा प्रेम, उहाँमा जीवन, जगत र वातावरणप्रति प्रेमैप्रेम थियो तर निष्ठा र मान्यताका लागि उहाँ सम्झौताबिहीन र आत्मअनुशासनपूर्ण कठिन मार्गका अथक यात्री हुनुहुन्थ्यो। सरलता, शालीनता र त्यसमा उतारचढावरहित एकनासपन उहाँको सहज आकर्षण थियो। यस्ता अतुलनीय गुणले भीमबहादुरजीको व्यक्तित्व सबैका लागि श्रद्धा, स्नेह र आत्मीय बनेको थियो, जसले पार्टीलाई गौरवमय बनायो।
भौतिकरुपबाट उहाँ कम्युनिष्टहरूले भन्ने गरेको सर्वहाराको उदाहरण हुनुहुन्थ्यो, नैतिकरुपमा धेरै गुणका धनाढ्य। सोचेको काममा लागेपछि त्यसलाई टुङ्गोमा पुर्याउएरमात्र छाड्ने उहाँको बानी थियो। काममा लटरपटर हुनु उहाँलाई सबभन्दा मन नपर्ने कुरा हुन्थ्यो। आफ्ना काममा उहाँ यति मनोयोगले लाग्नुहुन्थ्यो कि जुनसुकै काम पनि पक्का र भरपर्दो हुनुपर्थ्यो। त्यसैले बीपी कहिलेकहीँ ठट्टा गर्नुहुन्थ्यो भनेर आफैँ सुनाउनुहुन्थ्यो- 'भीम, झरीको दिन पनि छाता ओडेर फूलमा पानी हाल्छन् अनि चामल पखाल्न साबुन लगाउन खोज्छन्।' फूलबारी र बोट-बिरुवाप्रति उहाँको यति गाढा प्रेम थियो कि नख्खु जेलमा बस्दा होस् वा बीपीसँग भारतको निर्वासित जीवन वा जयबागेश्वरीमा फूलबारी लगाउन उहाँले कहिल्यै छोड्नुभएन, मानौँ फूलबारी उहाँको कर्ममात्र होइन, ध्यान र धर्म पनि हो ।
नेपाली काँग्रेसको सशस्त्र क्रान्तिकालमा निर्वासित जीवनमा बीपीको आकर्षण चे ग्वेबाराले अपनाएको गुरिल्ला रणनीतितिर पनि भयो र यससम्बन्धी रणनीतिको अध्ययन गर्न उहाँले भीमबहादुरजीलाई जिम्मा दिनुभएको थियो। त्यो अवसरले उहाँलाई काँग्रेसमा चे ग्वेबाराको गुरिल्ला युद्धको जानकार बनायो। यससम्बन्धी उहाँले केही पुस्तक पढ्नुभएको बताउनुहुन्थ्यो। निरन्तर अध्ययनशील, सुन्दर अक्षरमा लेख्नसक्ने, मनोविज्ञानका पुस्तक पढ्न ज्यादा रुचि राख्ने, पहिलेपहिले पत्रपत्रिकामा लेख-रचना लेखिरहने, नेपाली, अँग्रजी र हिन्दीमा उत्तिकै दख्खल उहाँको खुबी थियो। उहाँको जीवनवृत्ति कर्मयोगीको थियो, कर्म गरिरहने तर फलको आसा नगर्ने। ७८ वर्षको उमेरमा पनि उहाँ पार्टीका काममा उत्साहपूर्वक सक्रिय हुनुहुन्थ्यो। जिल्ला (दोलखा) मा कुनै कार्यक्रम भए त्यसलाई छुटाएजस्तो मलाई लाग्दैन।
नेपाली काँग्रेसको भातृ संगठन, नेपाल आदिवासी-जनजाति संघलगायत् धेरै संस्थाका साथीहरुले दिनुभएको विभिन्न ज्ञापनपत्रबारे पार्टी केन्द्रीय कार्यसमितिद्वारा २०६९ असार ७ गते उहाँकै संयोजकत्वमा गठित एघार सदस्यीय सुझाव समितिले अध्ययन गरी बुझाएको प्रतिवेदनले नेपाली काँग्रेसभित्र आदिवासी-जनजातिका विषयमा ठोस निर्णय लिन सहज भएको थियो। 'जातीय पहिचान भेटिने र द्वन्द्व मेटिने' बाटो उहाँकै संयोजकत्वमा गठित समितिको खोजी थियो, जुन कुरा प्रतिवेदनले समेट्न धेरै हदसम्म सकेको मान्न सकिन्छ। नेपाली समाज जातिगतरूपले विभिन्नतामा छ तर यो विभिन्नतामा अभिन्नता पनि छ भन्ने मान्यताका पक्षपाती भीमबहादुरजी आवेगको राजनीतिमा कहिल्यै सामेल हुनुभएन। जातीय द्वन्द्वमा कहिल्यै नफसेको हाम्रो मुलुक जनजाति वा अन्य जातजातिका बीच आपसमा पारिवारिक साइनो लगाएर बसेका नेपालीमा हरतरहले अन्तर्जातीय सद्भाव र सामाजिक एकता बनाइरहनुपर्छ भन्ने मान्यतालाई छाडेर उहाँले कसैसँग कहिल्यै सम्झौता गर्नुभएन। तर यसको विपरित 'क्रान्तिकारी' वा 'आमुल परिवर्तनकारी' वा 'नयाँ नेपाल बनाउने' बहानामा जातीय द्वन्द्वको दुष्चक्रमा मुलुकलाई आहुति दिने जुन आपराधिक प्रवृत्तिको दुस्साहस छ, त्यसको उहाँ प्रखर विरोधी हुनुहुन्थ्यो र भन्नुहुन्थ्यो- आदिबासी जनजातिको अनुहारलाई दुरूपयोग गरेर आफ्नो शासन बलियो बनाउने कार्य राणाहरूको पालादेखि नै हुँदै आयो, चाहे त्यो रणधीर सुब्बाहरूको प्रयत्नद्वारा होस् वा २०३६ सालमा पञ्चायतलाई जिताउन होस् वा आजकालका गतिविधि। हामीले आफ्नो अधिकारका लागि संघर्ष गर्नुपर्छ तर अर्काको हतियार हुने खतराबाट पनि उत्तिकै सतर्क हुनु जरूरी छ।
२०५२ सालमा उहाँ र म एउटै मन्त्रिमण्डलमा मन्त्री थियौँ। समान सामाजिक संरचनाबाट आएका कारण उहाँसँग मेरो सहज आत्मीयता थियो, विचारको 'वेभलेन्थ' मिल्थ्यो। विदेश जानुपर्ने बेलामा मैले आफ्नो मन्त्रालयको कार्यभार सुम्पिन उहाँलाई नै रोज्ने गर्थेँ, उहाँ त्यसलाई उत्साही मनका साथ स्वीकार्नुहुन्थ्यो।
राणाकालमा देशका गाउँबस्ती, कुनाकन्दरामा भएका शोषण र अत्याचारको दबदबा सहन नसकेर बिस्थापित भई कुम्ला-कुटुरा बोकेर विकट पहाडी गोरेटाहरू छिचोल्दै 'मुग्लान पस्ने' पीडितहरूको लर्को प्रतिवर्ष लाखौँको संख्यामा हुने गर्थ्यो। तत्कालीन शासन र गाउँका छाडा जालीफटाहाको अत्याचारबाट पीडित भएकामध्ये एकैरातमा तीस हजार परिवार विस्थापित भएको इतिहास पनि मैले पढेको छु। २००७ सालमा नेपाली काँग्रेसले सशस्त्र क्रान्तिको आयोजना गर्दा हतियार बोकेर लड्ने प्रवासी नेपालीहरू राणा शासकबाट पीडित तिनै बिस्थापित र तिनीहरूका सन्तान थिए।
त्यही अन्धकार युगमा दोलखाभन्दा करिब २७ किलोमिटर दक्षिणपूर्व अवस्थित 'झुले' गाउँको विपन्न पाखि्रन (तामाङ) परिवार मुग्लान पस्न बाध्य भयो र हिन्दुस्थानमा काम र माम खोज्दै खर्साङको कुनै चियाकमानमा पुगेछ। तिनै कुबेरबहादुर पाखि्रनका छोरा कृष्णबहादुरले त्यतै बिहाबारी गरेपछि भीमबहादुरजीको जन्म भयो। तर आफ्नो पुर्ख्यौली सम्पत्ति स्थानीय जालीफटाहाहरूले खाइदिन लागे भन्ने खबर पाएपछि १६ वर्षको उमेरका भीमबहादुरजी पुर्ख्यौली थातथलोमा फर्किनुभयो र गाउँमा शिक्षाको उज्यालो फैलाउँदै यतै बस्नुभयो, गाउँमा दुईटा विद्यालय खोल्नुभयो र २०१० सालमा विवाह गर्नुभयो। तर उहाँको वैवाहिक जीवन सफल भएजस्तो लागेन। लोकतान्त्रिक आन्दोलनमा होमिँदा कहिले जेल, कहिले हिन्दुस्तान, कहिले भूमिगत जीवनले उहाँको पारिवारिक जीवन समाप्त पार्योम। उहाँले प्रायः एकल जीवन बिताउनुभयो, पार्टीलाई नै परिवार मान्नुभयो।
बीपीद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादबाट पछिल्लो कालखण्डमा पार्टीमा भएको विचलनलाई लिएर अत्यन्त दुःखी हुनुहुन्थ्यो, कहिलेकहिँ भन्नुहुन्थ्यो- जनताको दुःखै नदेख्नेले दुःखीको कुरा कसरी बुझ्छ? यो तथ्यलाई हामीले अङ्गिकार गर्न सक्नुपर्छ। प्रजातान्त्रिक समाजवादका एक सच्चा पक्षपाती तथा बीपीका अनुयायीका लागि पार्टीको यस्तो विचलन सुखद् हुँदैनथ्यो तर अर्थतन्त्रको ढाँचा र बाटो अख्तियार गर्ने कार्यमा हामीले उहाँजस्ता त्यागी, तपस्वी र संघर्षशील नेताको मन कुँड््याइदिने काम गरेकै हो, जुन चिन्तामा पार्टीका लाखौँ कार्यकर्ताहरूको सदैव सहृदयता रहेको छ। प्रजातान्त्रिक समाजवादबाट पार्टीमा ल्याइएको विचलनलाई पचाउन नसकेका नेता कार्यकर्ताको पंक्ति लाखौँको संख्यामा छ, जुन आपत्ति ११ औँ महासमितिको बैठकमा पनि मुखरित भएको थियो। विश्व नै एउटा गाउँ (ग्लोबल भिलेज) भएको आजको जमानामा अन्तर्निर्भरता नै आत्मनिर्भरताको आधार भए तापनि राज्यका केही अरिहार्य दायित्व र जिम्मेवारी हुन्छन्, जसलाई राज्यले उपेक्षा गर्ने र बजार अर्थतन्त्रलाई सबै कुरा छाडिदिने काम हुनुहुँदैन। पुँजीवादले उपभोक्तावादलाई बढाउँछ तर उपभोक्तावादले गरिबी निवारण र सामाजिक न्याय स्थापना गर्न नसक्ने हँुदा गरिबी निवारण र सामाजिक न्यायका लागि राज्य नै अग्रसर हुनुपर्छ भन्ने बीपीको शिक्षाबाट ओतप्रोत भीमबहादुरजी जस्ता नेतालाई अहिलेको विचलन सुपाच्य हुने कुरै थिएन। उहाँ मसँग बारम्बार यही असन्तुष्टि सेयर गरिरहनुहुन्थ्यो।
१५ वर्षदेखि नेपाली काँग्रेसका नेता, वरिष्ठ अधिवक्ता तथा विघटित संविधान सभाका सदस्य राधेश्याम अधिकारीजीले उहाँलाई आफ्नै घरमा कोठा दिएर बसोबासको व्यवस्था मिलाइदिनुभएको थियो, भीमबहादुरजी जस्तो त्यागी नेताका लागि जुन काम पार्टीले गर्नुपर्ने हो। राधेश्यामजीको यस्तो निस्वार्थ र सहज सद्व्यवहारप्रति उहाँलाई विशेष धन्यवाद दिनु कर्तव्य ठान्छु। किनकि पार्टी भनेको भिडमात्र होइन, वास्तवमा निश्चित सिद्धान्त, विचार, मूल्य-मान्यता, साझा लक्ष, राजनीतिक संस्कार, सभ्यता, परम्परा र सामाजिक सद्भावहरूको संगालो हो।
लोकतान्त्रिक आन्दोलनका एक बफादार सेनानी तथा नेपाली काँग्रेसका नेता स् भीमबहादुर तामाङलाई विविधतायुक्त नेपाली समाजका सामाजिक सद्भावका पक्षधर एकजना अग्लो र असल मान्छेका रूपमा सधैँ सम्भि्करहे उहाँका सत्प्रयासप्रति न्याय गरेको ठहर्छ। उहाँका असल मानवीय गुणलाई अनुशरण गर्दै उहाँलाई मान्नेभन्दा पनि जान्ने कोसिस भयो भने सामाजिक सद्भाव र अमन चैनको वातावरण बन्नसक्छ। लोकतान्त्रिक नेपाल राष्ट्रका यी सम्मानित नागरिकका निस्वार्थ सपना पूरा गर्ने कोसिसमा लाग्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।