Tuesday, October 11, 2011

कामकुरो एकातिर कुम्लो बोकी.... ....अर्जुननरसिंह के.सी

हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकाणले विचार गर्छौं । हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्छौँ । तसर्थ, हाम्रा धेरैजसो निर्णयहरू आफ्ना व्यक्तिगत चाहना वा रुचि वा अरुचिका छाया मात्र हुन जान्छन् । यसलाई हामीले हटाउनुपरेको छ' -बीपी कोइरालाले कार्यकर्ताहरूलाई लेख्नुभएको खुलापत्रबाट, 'नेपाल पुकार' विसं २०१५) ।

नीतिकथाबाट प्रसंग सुरु गरौँ ः एउटा मान्छे आफूसँग भएभरका बन्चरा आरनमा धार-पाइन हालेर लिएर आउँदै थिए । बिँड फुकालेर मालाजसरी काँधमा बोकेका ती बन्चराहरू हिँडाइको गतिमा आपसमा ठोक्किएर ठाङ्ठुङ् आवाज निकालिरहेका थिए । बन्चराको आवाज सुनेपछि बाटो छेउछाउका साना 'रूख' हरू तर्सिन थाले, बन्चराको काम नै रूख ढाल्ने हो, लौ अब सिद्धिने भइयो । त्यसपछि ससाना रूखहरूले यो कुरा 'ठूला रूख' हरूलाई सुनाए । ठूला रूखहरूले सोधे, ती बन्चरामा हाम्रो कुनै दाजुभाइ -काठको बिँड) पसेको छ कि छैन ? दाजुभाइ नपसेको उत्तर

आयो । त्यसपछि ठूला रूखहरूले निष्कर्ष सुनाए, जबसम्म हाम्रै दाजुभाइ बिँड बनेर बन्चरामा घुसेको हुँदैन, हजारवटा बन्चराले पनि हामीलाई केही गर्न सक्दैन । जब हाम्रो दाजुभाइ पस्छ, तब एउटै बन्चरो पनि हाम्रा लागि ज्यानी-खतरा बन्छ ।

आज यदुवंशी चरित्र तथा आपसी फुटबाट पीडित सबै राष्ट्रिय शक्ति, व्यक्ति, चरित्र एवं पार्टीहरूभित्र यो कथाले एउटा सन्देश देला भन्ने मलाई लागेको छ । राष्ट्रिय सहमतिमा बाधक बन्न पुगेको आन्तरिक

विमतिका कटु यथार्थलाई बुझ्न नसके राष्ट्रिय सहमतिको कुरा कता हो कता हुन जान्छ । 

शान्ति, लोकतन्त्र, लोकतान्त्रिक संविधान, जनताका इच्छा र आवश्यकता समेट्नुपर्ने अनिवार्य जिम्मेवारीमा दलका फुटपरस्त गतिविधि बाधकका रूपमा सार्वजनिक भएका

छन् । पार्टीभित्र व्यापक एकताको खोजी गर्ने सिर्जनशील धारका कार्यकर्तालाई विग्रहले बेचैन र निराश तुल्याउन थालेको छ । पार्टीहरूको इतिहास सन्धि र विग्रह, फुट र दोष-विनिमयको इतिहास पनि हो । त्यसैले सबै पार्टीमा यतिबेला आन्तरिक कलह र विग्रह चर्किएको छ भनेर हामीले आफूभित्रका विवादलाई सामान्यीकरण गर्न वा सहज रूपमा लिन हुँदैन । आफ्नो अभिमान बढाउने, पार्टीको स्वाभिमान गिराउने झगडालाई त्यसै छोडिदिने हो भने कसैको भलाइ हुँदैन भन्ने सबैले हेक्का राख्नुपर्ने हो ।

कांग्रेसमा झगडाको बीउ, निर्धारित कार्यकाल पूरा भएका चार भ्रातृसंगठनहरू विघटन गर्नुपर्छ वा गर्नु हुँदैन भन्ने अडानबाट उत्पन्न भएको हो । कार्यकाल सकिएका संगठनको अधिवेशन गराउनुपर्छ, कार्यकाल तन्काएर लैजानु हुँदैन भन्ने तर्क एउटा पक्षको हो, सामान्यतया सिद्धान्तका लागि यो कुरा ठीक हो । तर अर्कातिर प्रश्न उठेको छ, यसै तर्कका आधारमा छ महिनाअघि विघटित नेपाल विद्यार्थी संघको अधिवेशन र नयाँ नेतृत्वको निर्वाचन किन भएन ? म्याद थप त पार्टी केन्द्रीय समितिको पनि भएकै हो, यसैलाई क्रियाशील गर्न समयमै किन सचेत गराइएन ? विश्वासको संकटको परिवेशमा पारस्परिक सहमतिपूर्ण निष्कर्ष खोज्नुको बदला बहुमत र अल्पमतमा विभाजन हुन हामी किन पुग्यौँ ? लोकतान्त्रिक मान्यताको अन्तिम निणर्ायक प्रक्रिया बहुमत नै हो, तर त्यससँगै पूर्वसहमतिहरू, दबाब समूहको धारणा, अल्पमतका विचारको संयोजन पनि निर्णय प्रक्रियामा त्यति आवश्यक हुन्छ । अन्यथा संस्थाहरूको एकतामा असर पर्ने यथार्थमा सबैले हेक्का राख्नुपर्छ । खासगरी नेतृत्व तहकाहरूले यस्ता सवालमा अझ बढी सजग हुनुपर्छ ।

पार्टीभित्र न्यायिक व्यवहारका लागि सकारात्मक विभेद हुनु स्वाभाविक कुरा हो किनकि सय भारी खर काट्ने र सय भारी खर डडाउनेको समान मूल्याङ्कन हुनै सक्दैन । तर यसका लागि सहमति र विश्वासको वातावरण बनाउनैपर्छ । निर्णयमा निसाफ देखिएन भने विवादको अन्त्य होइन, त्यहीँबाट नयाँ विवाद सुरु हुन्छ । नेतृत्वका सन्दर्भमा पार्टी भनेको बाँसको झाङजस्तै हो । बाँसको झाङमा जुन बाँस सबभन्दा अग्लो हुन्छ, उही बढ्ता नुहिन्छ । भ्रातृसंगठनका बहानामा जुँगाको लडाइँलाई प्रश्रय दिन थालियो भने त्यसले पार्टीको एकता, आदर्श, परम्परा र आन्तरिक लोकतन्त्र सबै सत्यानास गर्छ ।

नयाँ पुस्ता पश्चिम एसियामा ट्विटर वा फेसबुकजस्ता सामाजिक सन्जालद्वारा ल्याइएका लोकतान्त्रिक वा स्वतन्त्रतावादी आन्दोलनको संवाहक हो, कलर रिभोलुसन वा चेहराविहीन आमक्रान्ति -फेसलेस रिभोलुसन) को रचयिता हो । चीनमा बढ्दै आएको स्वतन्त्रताको खोजीको शक्ति हो, भारतमा अन्ना हजारेले चलाएको कुशासन र भ्रष्टाचारविरोधी आन्दोलनको सारथि हो । सूचनालाई शक्तिको आधार मानेर सक्रिय रहेका नेपाली युवाहरू विश्वव्यापी रूपबाट उठेका यस्ता लहरहरूबाट अलगअलग रहन सक्दैनन् । नयाँ पुस्ताको रुचि र आवश्यकतालाई नेतृत्वले सम्बोधन गर्न नसक्दा संसारका ठूलठूला शासक ढलेनन् मात्र, तिनको उछितो नै काढ्यो यही पुस्ताले ।

आज दुःखद परिस्थितिमा हामी छौँ । दुइटामध्ये जुन आँखा घोचे पनि आफैँलाई दुख्ने अवस्था छ । पार्टीका साथीहरू ठूलो जमातमा विरोधका लागि अन्नपानी त्यागमा उत्रिसके । पार्टीका कुनै साथीहरूका जीवनसँग खेलवाड गरिनु हुन्न । पार्टीबाट कुनै साथीको बहिर्गमन वा निष्त्रिmयता, क्रियामा सामान्य लागे पनि त्यसको प्रतिक्रिया झन् गम्भीर रूपमा आइलाग्ने जोखिम बढ्छ । यसलाई 'आत्मघाती साहस' भनेर कसैले भने पनि कार्यकर्ताको यही साहसी मानसिकता हो, जसलाई सही नेतृत्व दिन सक्दा कार्यक्षेत्रबाट पार्टीलाई जीवित, सदावहार र सफल बनाइरहेको छ । बीपी, सुवर्णजी, गणेशमानजी, किसुनजी, गिरिजाबाबुजस्ता अग्रज राजनेताहरूले नेतृत्व दिएको कार्यकर्तापंक्तिको आधारभूत मानसिकता हिजो यही थियो, जो आज पनि छ । 

पार्टीले बहुमतद्वारा एउटा निर्णय लिइसके पनि सहमतिका बाटा प्रशस्त छन् । ती उपाय मैले पनि नेतृत्वसामु पटकपटक प्रस्तुत गरेको हो र अन्य साथीहरूबाट पनि समाधानमुखी विकल्प आएकै हुन् । यस्ता विकल्पको सही कार्यान्वयनबाट परिणाममा सहमति निस्कन सक्छ । तर हामीले विगतबाट पाठ सिक्न सकेनछौँ, अझ खेद यसमा छ । विगतमा सोह्रवटा जिल्लाका पार्टी कार्यसमितिका सभापतिलाई एकैचोटि अपदस्थ गरियो । त्यसको चोटले अन्ततोगत्वा पार्टी विभाजनको नौवत आइलागेको थियो । कतै आज त्यही अभ्यासको पुनरावृत्तितिर त छैनौँ हामी ? पार्टी एकताका मूल्यमा त भइरहेका छैनन् यी विग्रहवादी अभ्यास ? 

राजनीतिमा नेतृत्वको चाहना राख्दा सहमति र सहकार्यको संस्कृति बाधक भएको मनोभाव बढ्न थाल्यो भने त्यो प्रवृत्ति आत्मघातक

हुन्छ । पार्टी अनुशासन कसले मान्नुपर्ने कसले नमाने पनि हुने भन्ने अलगअलग व्यवहार जन्मिन थाल्यो भने त्यो अर्को खेदजनक स्थिति

हुन्छ । निरर्थक आत्मविश्वास र रणनीतिको अभावले गर्दा हामी संविधानसभाको निर्वाचनमा दोस्रो स्थानमा झरेका हौँ, त्यसपछि निरन्तर धक्का खाइरहेका छौँ । धक्काका कारकतत्त्वको कदर भइरहेको छ, तर समर्पितहरूले आफ्नो ठाउँ आफैँले खोज्नुपरेको छ । कांग्रेस जनमतमा अगाडि थियो, अहिले पनि छ । तर जनमतमा जितिरहेको पार्टीलाई मतगणनामा अरूले जिते । यो कसैको होइन हाम्रो दोष हो, नीतिगत अस्पष्टताको दोष हो र समष्टिमा नेतृत्वको दोष हो । मात्रामा को, कति दोषी भन्ने कुरा इतिहासले नै फैसला गर्ला । एकताबद्ध अल्पमतले अनमेल बहुमतलाई सजिलै पराजित गर्छ भन्ने यथार्थ यहाँनेर देखिएको छ ।

कांग्रेस प्रतिरक्षात्मक स्थितिमा पुगेको वर्तमानमा यसबाट पार हुने बहस हुनुपथ्र्यो । संविधानसभाको तीन वर्ष चार महिनाको अवधिमा चारजना प्रधानमन्त्री फेरिइसके, कांग्रेसले किन आफ्नै नेतृत्वमा सरकार गठन गर्न सकेन ? सामाजिक न्यायको स्थापनामा, लोकतन्त्रको सुदृढीकरणमा, जनस्तरमा कांग्रेसको विश्वास र वर्चस्वमा, समावेशी राजनीतिलाई समाजमा अझ प्रभावकारी बनाउने कार्यमा, राष्ट्रिय-अन्तर्राष्ट्रिय विश्वास तथा समर्थनमा कहाँ चुक्यौँ हामी ? के यस्ता प्रश्नको उत्तर हामीसँग हुनु पर्दैन ?

मुख्य रूपले शान्ति प्रक्रियाको पूर्णता र लोकतान्त्रिक संविधानको निर्माणमा बहस केन्दि्रत हुनुपथ्र्यो, निरर्थक विवादमा अल्मलिनु हुँदैनथ्यो । एकताका सारा अभ्यास र उपाय लगाउनुपर्ने बेला हो यो । तर 'कामकुरो एकातिर कुम्लो बोकी कतातिर भनेजस्तो हुँदै छ । पार्टीलाई एकताबद्ध बनाइरहन हाम्रा अग्रज नेताहरूले विगतमा के गरेका थिए, ती तथ्य यतिबेला सम्भिmने बेला हो । विद्रोहमा जाने र विद्रोहमा धकेल्ने दुवै विनाशक प्रवृत्ति हुन् । पार्टी एकताको विकल्प छैन किनकि लोकतन्त्रमा पार्टी फुटाउनुभन्दा ठूलो राजनीतिक अपराध अरू कुनै हुन्न ।

गत बाह्रौँ महाधिवेशन र दसबुँदे मार्गचित्रसहित देशभरि पचासौँ आमसभा गर्दा जनस्तरमा र युवापुस्ताले देखाएको स्वस्फुर्त सहभागितालाई स्थायित्व दिँदै जनताबाट शक्तिसञ्चय गर्नुपर्ने बेलामा हामी आफैँभित्रका विवादमा फस्न पुग्यौँ । अरूका नजरमा समेत कांग्रेसप्रति बढेको आमजनसमुदाय र युवाहरूको त्यो लोभलाग्दो समर्थनको आज के स्थिति होला भन्ने चिन्ता पक्कै हामीमा हुनुपर्ने हो । यसविपरीत पार्टी जेसुकै होस्, तर 'पार्ट' बलियो हुनुपर्छ भन्ने आग्रह यदि कसैले लिए त्यो प्रवृत्ति खतरनाक हो । 'शुभेचः किञ्चित अशुभे समाप्तम्' भन्ने तत्त्वज्ञानबाट पार्टी होसियार हुनुपर्ने बेला आएको छ । त्यसकारण पार्टीलाई यो रडाकोबाट जोगाउन पार्टीका तमाम साथीहरूको आग्रह/पूर्वाग्रहपूर्ण दबाब होइन, उचित रायको आवश्यकता छ ।

विग्रहका सबै पक्षलाई सहमतिमा ल्याउने वस्तुवादी विचार कार्यकर्ता पंक्तिबाट आउनुपर्छ । यस्तो बेला कार्यकर्ताबाट विवेकको अधिकतम प्रयोगसहित पार्टी हितका पक्षमा निष्पक्ष, निर्भीक र न्यायवादी विचार बनाउनु जरुरी छ । कार्यकर्ताहरूको विवाद नेताहरूले मिलाउँछन्, तर नेताहरूको विवाद कार्यकर्ताहरूका निष्पक्ष विचारका सहायताले मिलाउनु आन्तरिक लोकतन्त्रको उच्चतम प्रयोग हो । सत्य र पार्टीहितका विचार राख्दा कुन दाइ रिसाउला वा कुन दाइ खुसाउला भन्ने हिसाबकिताबबाट होइन, सिंगो पार्टीको हित कुन उपायले हुन्छ, त्यस बाटोमा जाने हो । चिप्लोले लडाउँछ खस्रोले अडाउँछ । बीपीले कार्यकर्ताहरूलाई लेखेको, समयले पुरानो तर विचारमा ताजै रहेको उपरोक्त पत्रांशको सन्देश अझै मार्गदर्शन गरिरहेको छ । यहाँ व्यक्तिगत मोलाहिजाको कुरा छैन, पार्टीहितको सवाल प्रधान छ । कार्यकर्ताहरूले नेताका कुरा धेरै सुनिसके, यस मामिलामा अब नेताहरूले कार्यकर्ताका आवाज सुन्नुपर्छ । उपनिषद्ले सिकाउँछ, 'संसारका सबै चिज नाशवान् छन्, तर सत्यको नाश हुँदैन ।' तसर्थ कार्यकर्ताले बेलाको बोलीका रूपमा अविनाशी सत्य बोलिदिने बेला भएको छ ।

कार्यकर्ताको निर्वाचनबाट स्थापित सभापतिलाई अकर्मण्य र कमजोर हुन नदिनु कार्यकर्ताको जिम्मेवारी हो । सभापति कमजोर हुँदा संस्था बलियो हुन सक्दैन । अल्पमतले बहुमतलाई बन्धक बनाउनु हुँदैन । यसो भनेर सभापतिले पाएको बहुमत 'अल्पमत' लाई पेल्न दिइएको विशेषाधिकार भने होइन । धेरै परसम्म हाम्रा कार्यकर्ता-पंक्ति र चुनौतीका पहाड छन्, जसलाई नेतृत्वले देख्न सक्नुपर्छ । लोकतन्त्रवादी पार्टीकै वरिपरि लोकतन्त्रको हुर्मत जाने काम कहीँकतैबाट हुनु हुँदैन । यो हाम्रो अनवरत जिम्मेवारी हो । तर जिम्मेवारीका बेला हामी आफैँभित्रका झमेलामा फस्न पुगेका छौँ, आपसी कलहमा लिप्त छाँै । सभापतिजी भन्नुहुन्छ, सहमति गरेरै लिएर जान्छु । शेरबहादुरजी भन्नुहुन्छ, जतिसुकै विवाद भए पनि पार्टी फुट्न नदिन म कटिबद्ध छु । तर मौखिक तथा प्राविधिक रूपको वा टालटुले एकताले मात्र हुँदैन, त्यो त फुटेको हाँडी जोडेजस्तो मात्र हुन्छ । व्यावहारिक रूपमा कांग्रेस भावनात्मक तथा भ्रातृत्वपूर्ण एकताका साथ जनतामा जानुपर्छ । फुटपरस्त पार्टीको जनतामा कुनै भाउ छैन भन्ने धरातलीय यथार्थ सबै साथीहरूले अनिवार्य रूपमा बुझ्नैपर्छ । अन्यथा हामी सबै आफूलाई विनाशतिरै धकेलिरहेको यथार्थले कलंक लगाइदिनेछ ।

लेखक नेपाली कांग्रेस केन्द्रीय सदस्य हुन् ।
2068 Asoj 11