Monday, January 23, 2012

शान्ति र संविधानका बाधक पक्ष------- अर्जुननरसिंह केसी

फेरि सङ्कटतिर घचेटिँदै छ शान्ति प्रक्रिया र संविधान लेखनको काम । लक्षणबाट यो अवस्था 'कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै' भन्ने उखान चरितार्थ हुने दिशामा उन्मुख देखिन्छ । माओवादीभित्र विग्रहपछि शान्ति र संविधानको कामलाई सङ्कटमा धकेलेर फेरि 'युद्धविराम सन्धि' भएको छ । गत जेठको अन्त्यतिर मोहन वैद्य पक्षले तयार गरी माओवादीको स्थानीय पार्टी कमिटीसम्म पुर्‍याएको 'प्रचण्ड' विरुद्धका १८ वटा सङ्गनि आरोप तथा २०६७ असार १ देखि ११ सम्म चलेको माओवादी पोलिटब्युरो बैठकमा अध्यक्षमाथि नै लगाइएका त्यस्तै १० आरोप मिल्काएर 'जनविद्रोह'का नाममा अझ बढी अस्तव्यस्तता मच्चाउने विषयमा माओवादीभित्र फुटेको हाँडी जोडि्ने कोसिस भइरहेको छ । शान्ति र संविधानका लागि माओवादीभित्र एकता होस् भन्ने हाम्रो शुभेच्छा हो । बहुदलीय प्रणालीप्रति प्रतिबद्ध भएको नाताले, लोकतन्त्रका संवाहक तथा संयन्त्र बन्नुपर्ने पार्टीहरू फुट्दै जाने हो भने लोकतन्त्रको खतरा सोही फुटबाट उत्पन्न हुन्छ भन्ने हाम्रो अकाट्य मान्यता हो । त्यसैले माओवादी अध्यक्षको 'माओवादी एक भएकोमा सबै आत्तिए' भन्ने आत्मरतिपूर्ण भ्रम र आफैंलाई ढाँट्ने कुराको जनतामा अब कुनै मूल्य छैन । शान्ति प्रक्रियाका मूल्यमा माओवादीको 'जनविद्रोह' रहस्यमय तरिकाले बारम्बार तेर्सिरहन्छ । प्रश्न उठ्छ, 'जनविद्रोह' कसका विरुद्ध र केका लागि ? सहज शान्ति, सुरक्षा, स्थिरता र समयमै लोकतान्त्रिक संविधान बनाउनुपर्ने चाहना राख्ने जनतालाई 'जनविद्रोह' पस्किने आततायी नियतको कारण के हो ? के माओवादीको देशव्यापी सङ्गठित अराजकता र देशदोहनलाई झन् कठोर बनाउनका लागि ? मुलुकलाई स्थिरता र जनतालाई सुविस्ता दिनुपर्ने बहस चल्दा माओवादी पार्टी प्रायः फुट्न खोज्छ, अस्तव्यस्तता मच्चाउने सवालमा पुगेर मिलाप हुन्छ । शान्ति प्रक्रियामा यो एक अवाञ्छित विशेषता भइरहेको छ ।
कांग्रेसले बारम्बार माओवादी अध्यक्षलाई शान्ति प्रक्रियाको संयोजन गर्न सार्वजनिक आग्रह गर्दै आएको छ । तर उनको बोलीको ठेगान र भरोसा नभएको देख्दा उनी नायक कि विदूषक के हुन्, खुटयाउन गाह्रो हुनथालेको छ, जो शान्ति, संविधान र आफ्नै साख तथा विश्वासको मूल्यमा जनता, राज्यव्यवस्था, अन्य दल र आपफ्ना लडाकुहरूको जीवनसँग खेलवाड गरिरहेका छन् । आज एउटा बोल्छन्, भोलिपल्ट त्यसको ठीक विपरीत कुरा
आउँछ । कुन कुरा पत्याउने, कुन नपत्याउने । संवाद र सहमति 'अकबर-वीरबल विलास'जस्तो समय कटाउने साधन बनिरहेको छ । 'माओवादीलाई घेरामा पारेको' वा 'प्रचण्डलाई कसरी निषेध गर्ने भन्नेमा बैठक गरेको' जस्ता जोकर-संवाद केवल कायर र हतास मनस्थितिको द्योतक हो । मित्र हुनखोज्नेलाई 'दुश्मन' बनाएर काल्पनिक 'दुश्मन'को बाहिरी खतराबाट 'बाघ आयो' शैलीमा आन्तरिक रूपमा आफ्नो नेतृत्व सुरक्षित बनाउने चाल र अरू पार्टीमा अनेकता सिर्जना गर्ने विक्षिप्त जालमात्र हो । शान्ति प्रक्रियाको जिम्मेवार हुनुपर्ने एउटा पक्षको यस्तो हर्कत सिङ्गो राष्ट्रको हैरानी भइरहेको छ ।
गत पुस १६ गते नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय मेलमिलाप दिवस समारोहमा माओवादी अध्यक्षले भनेका थिए, 'म बोल्दा धेरैपटक चिप्लिसकेँ, अबदेखि सोचेरमात्र बोल्ने गर्छु ।' यही माघ ५ गते काठमाडौंमा माओवादीको कथित 'नेवाः र ताम्सालिङ राज्य समितिस्तरीय कार्यकर्तालाई (खन्ना गार्मेन्टमा) सम्बोधन गर्दै उनले, 'सामन्तवादी र साम्राज्यवादी शक्तिहरूले नेपालमा शान्ति र संविधानको कामलाई बढ्न नदिन षड्यन्त्र सुरु गरेकोले पार्टी एक भएर अहिले शान्ति र संविधानका काममा जुटेको'देखि 'शान्ति र संविधानबारे गरिएको सम्झौता गलत भएको' भन्नेसम्मका अभिव्यक्ति दिएर आफ्नै कार्यकर्ताहरूलाई गुमराह (मिसलिड) गर्ने काम गरेका छन् । उनले भनेका कुन 'सामन्तवादी र साम्राज्यवादी शक्तिहरू'ले शान्ति र संविधानको काममा भाँजो हालेर अगाडि बढ्न दिएनन् ? उनी किन तिनलाई नाङ्गेझार पार्न सक्दैनन् ? शान्ति प्रक्रिया र संविधान लेखनको काम पूरा गर्ने प्रतिबद्धता देखाएर राष्ट्रको नेतृत्व लिने, तर सबै दोष अन्यत्र पन्छाएर उन्मुक्ति खोज्ने यो कस्तो प्रवृत्ति हो ! यो त जुन घरको मानो खाने उही घरको छानो झोस्ने अनि दमकल बोलाएको नाटक पनि आफैं गर्ने जस्तो खेलवाड हो !
गत भदौ ८ गते माओवादी अध्यक्षले डेढ महिनाभित्र लडाकु समायोजन तथा पुनःस्थापनको काम सम्पन्न गरिसक्ने भनी आश्वस्त पार्दै 'लडाकुको पद माथिल्लो यहाँसम्म चाहन्छौं र तल्लो यहाँसम्म चाहन्छौं भन्नुभन्दा यो जिम्मा नेपाली सेना र लडाकुका विज्ञलाई राखेर सात दिनभित्र गर्दा छिटो हुन्छ,...अब गाँठो फुकेको छ' भनेका थिए
(कान्तिपुर, भदौ ९, २०६८) । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त बहाली लिएपछिका डेढ महिनाभित्र लडाकु समायोजनको काम सकिन भने राजीनामा दिन्छु भनी सार्वजनिक घोषणै गरेका हुन् ।
माओवादीको नारामा 'शान्ति र संविधान' त छ, तर नियतमा छ, 'जनविद्रोह'को नकाब लगाएको आपराधिक अराजकता ! त्यसैले उसका नारामा निष्ठा प्रतिविम्बित हुनै सकेन, लडाकुहरूमा निराशाचाहिँ तीव्रगतिमा बढाइरहेको छ । 'जनविद्रोह' माओवादीको ठेक्का होइन । स्वेच्छिक अवकाशमा जान चाहने लडाकुहरू शिविरबाट विदा हुन झोला-गुन्टा कसेर खुट्टा उचालिसकेका छन्, तर नेतृत्वले आलटाल गर्दै 'जनविद्रोह'को मन्त्र सुनाइरहेको छ । एक लडाकुले भनेको विलकुल मनासिव छ, 'शिविर बसाइ जति लम्मिन्छ, हाम्रो भविष्य उति नै अन्धकारमय हुँदै जान्छ । नेतृत्वले हाम्रो जीवन र भविष्यसँग खेलाँची गरेर राजनीतिका अनेक हत्कन्डा चलाएर अरूलाई तर्साउनमा तल्लिन छ ।'
सरकार-माओवादी र राजनीतिक दल-माओवादीबीच उही विषयमा बारम्बार सहमति भएका दस्तावेजहरूको चाङ नै लागेको छ । २०६२ मंसिर ७ गते भएको बाह्रबुँदे समझदारीमा भनिएको थियो, 'नेकपा माओवादीले सशस्त्र द्वन्द्वका क्रममा विस्थापित हुनपुगेका अन्य लोकतान्त्रिक पार्टीका नेता, कार्यकर्ता र जनतालाई यथास्थानमा राखेर ससम्मान बसोबास गर्ने, उनीहरूको अन्यायपूर्ण तरिकाबाट कब्जा गरिएका घरजग्गा, सम्पत्ति फिर्ता गर्ने र उनीहरूलाई निर्वाध ढङ्गले राजनीतिक गतिविधि गर्न पाउने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।'  २०६३ जेठ १२ गते लागू गरिएको युद्धविराम आचारसंहितामा त्यस्तै किटानी प्रतिबद्धता दोहोर्‍याइएको थियो । २०६३ कात्तिक २२ गतेको बैठकको निर्णयमा पनि उक्त सहमतिबारे 'यी सबै कार्यलाई एक महिनाभित्र पूर्णता दिने, यसनिम्ति जिल्ला-जिल्लामा दुवै पक्ष सम्मिलित समिति गठन गर्ने' भनिएको थियो । २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता, २०६३ चैत १६ सर्वदलीय बैठकको प्रतिबद्धता, २०६४ पुस ८ भएको २३ बुँदे सहमति, २०६५ असार ११ मा भएको सहमति, माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री भएको बेला नेपाली काङ्ग्रेसले २०६५ कात्तिक २४ गते पेस गरेको मागपत्र र सो मागपत्र पेस भएपछि उनले कात्तिक २६ गते (२०६५) मा संविधानसभाको बैठकलाई सम्बोधन गर्दै मंसिर मसान्तभित्र विगतका प्रतिबद्धता पूरा गर्ने घोषणा गरेको र त्यस अवधिमा पनि कब्जा घरजग्गा र सम्पत्ति फिर्ता नगरिए राज्यले क्षतिपूर्ति दिने घोषणा गरेका थिए । गत कात्तिक १५ गते भएको चारदलीय सातबुँदे सहमतिमा पनि छैटौं बुँदाका तीन उपबुँदामा यससम्बन्धी प्रतिबद्धता र सहमति भएको हो । कहाँ गए यी सबै लिखित र बारम्बारका आधिकारिक प्रतिबद्धताहरू ? अब केका लागि 'नयाँ उचाइमा नयाँ सहमति' र किन ?
माओवादीले जबर्जस्ती कब्जा गरेका घरजग्गा वा सम्पत्ति फिर्ता गर्नुपर्ने अनिवार्यताका बीच ०६३ असार २ गतेको आठबुँदे सहमतिको चौथो बुँदाले स्वतः खारेज गरिसकेको कथित 'जनसत्ता'लाई वैधानिकता दिने दुस्साहस गर्नथालेको छ । माओवादीले बन्दुकको आतङ्क मच्चाएर, कथित 'पुरानो सत्ता'को मालपोत कार्यालयमा गई जग्गा किनबेचको रजिष्ट्रेसन गर्न नदिएर 'जनसत्ताबाटै जग्गा पास गर्नुपर्ने' बाध्यता खडा गरी जनतालाई अवैध धनीपुर्जा स्वीकार्न विवश बनाएको थियो । रोल्पा, रुकुम, सल्यान, जाजरकोट र कालिकोटमा मात्र जग्गा किनबेचका १२ हजारभन्दा बढी गैरकानुनी धनीपुर्जा भेटिए, जसबाट माओवादीले ग्रामीण गरिब जनताको करोडौं रुपैयाँ खाएको देखिन्छ ।  तिनै अवैध कागजातलाई अहिले सरकारले स्वतः मान्यता दिनखोजेको छ । यस्तै हो भने उसले कब्जा गरेको घरजग्गालाई यसैगरी वैधानिकता दिनेछ । आफ्नो कथित 'जनअदालत' ब्युँताउनेछ । न्यायपालिकामाथिको उसको बक्रदृष्टि र सर्वोच्च अदालतका फैसलाप्रति उसले आधिकारिक रूपबाट गरिरहेको विरोध र निन्दाले त्यही लक्षण जताउँछ । आम नागरिक तथा राष्ट्रिय शक्तिहरूमात्र होइन, अन्तर्राष्ट्रिय जगतले पनि यो यथार्थको गहिराइमै गएर बुझ्नु जरुरी भइसकेको छ । हाम्रो पक्ष लिनुपर्छ भन्ने आग्रह होइन, निष्पक्षतापूर्वक सबैले बोलुन्, शान्ति प्रक्रियालाई धरापमा पार्ने पक्ष कुन हो, जो आज सत्तामा बसेर शान्तिको सन्दर्भमा बारम्बार 'जनविद्रोह'को धम्की सुनाइरहेको छ र शान्ति प्रक्रियाले बारम्बार बर्जित र खारेज गरेका अवैध निकाय र क्रियाकलाप चलाइरहेको छ ?
माओवादी अध्यक्ष संयोजक रहेको संविधानसभा विवाद समाधान उपसमितिले युद्धअपराध, मानवताविरोधी अपराध, जातीय नरसंहारसम्बन्धी अपराध आदिमा भूतप्रभावी कानुन बनाउने विषयका साथै संविधानमा निजी सम्पत्तिको हकबारे सीमा नतोक्ने, भूमिमा हदबन्दीभन्दा माथिको निजी स्वामित्वको जग्गा अधिकरण गर्दा क्षतिपूर्ति दिने वा नदिनेबारे नयाँ संविधानपछि निर्वाचनबाट आउने संसदले कानुन बनाउने, अनिवार्य सैनिक तालिमको व्यवस्था नगर्ने भनी सहमति बनाइसकेका अवस्थामा माओवादीबाटै निर्लज्जता र बेइमानीपूर्वक उल्ट्याउने काम गरिएकोमा शान्ति प्रक्रिया र संविधान लेखनको कार्य बिथोल्न त्यहाँ पनि 'सामन्तवादी र साम्राज्यवादी शक्तिहरू'को घुसपैठ भयो त ? यो सब देखिजान्ने प्रचण्डले जनतालाई बताउनुपर्छ । होइन, मनोगत कथा र मनको बाघ देखाएर अरूलाई तर्साउन खोजेको हो भने हामीले आफैंले अर्थ पहिल्याउनुपर्ने हुन्छ- माओवादीले चाहेको 'कार्यकारी राष्ट्रपति'को शासकीय स्वरूप संविधानमा नरहने र कसैको आफू किम इल सङ वा फिदेल क्यास्त्रोझैं आजीवन निरङ्कुश राष्ट्रपति बन्ने दिवास्वप्न भङ्ग भएपछि नियतवश नै शान्ति प्रक्रिया र संविधान लेखनकार्यमा भाँजो हाल्न थालिएको त होइन ? त्यसकारण कांगे्रसले माओवादीसँग गरिएका सहमति वा सम्झौताहरू माओवादीले पालन नगरेसम्म अब अरू कुनै लिखित सहमति हुनेछैन र ऊसँग वार्ता पनि निरर्थक हुनेछन् भन्नुपरेको हो । एकातिर लोकतान्त्रिक संविधानका सम्पूर्ण पक्षधरहरू निश्चित लक्ष्य र कार्यक्रमसहित एकजुट हुनुपर्ने आवश्यकता छ भने अर्कोतिर माओवादीसँग प्रस्ट रूपबाट शान्ति र लोकतान्त्रिक संविधानका विषयमा छिनोफानो गर्न तयार हुनुपरेको छ ।  
माओवादी लोकतन्त्रभित्रै छ, तर यसको अर्थ लोकतान्त्रिक भइहाल्यो भन्ने प्रमाण होइन । आजसम्मका गतिविधिले ऊ लोकतन्त्रको संवाहक होइन, उपभोक्तामात्र भइरहेको देखाउँछ, जसमा शान्ति र संविधान पार्टीको सहज नीतिभन्दा पनि आफ्ना अभीष्टका लागि फगत हत्कन्डाका रूपमा देखापरेको छ । प्रधानमन्त्री, माओवादी नेता र मन्त्रीहरूका गैरजिम्मेवार बोली हिंसा र द्वन्द्वलाई प्रोत्साहन दिने नियतका छन् । जे भए पनि संविधानसभाले संविधान बनायो भने पूर्ण लोकतान्त्रिक संविधानमात्र बनाउनेछ । लोकतान्त्रिक प्रक्रियाबाट गठित संविधानसभाले अलोकतान्त्रिक वा सर्वसत्तावादी संविधान बनाइदेला भनी कसैले आसा गरेको छ भने त्यस्तो भ्रामक आसाबाट मुक्त हुनु वेश होला । 'जनविद्रोह'को आसा पनि कसैले नलिए हुन्छ । आम जनताले सही अर्थको स्वस्फुर्त 'जनविद्रोह' गरे भने त्यो माओवादी नेताहरूको निहित स्वार्थका पक्षमा होइन, माओवादी सर्वसत्तावादका विरुद्ध हुनेछ । त्यसैले 'यथास्थितिवादी र सुधारवादीलाई बढारेर लैजाने' भ्रम पाल्ने अधिकार माओवादीलाई छ । तर इतिहासको हेक्का रहोस्, सर्वसत्तावाद र अधिनायकवादका चेष्टा गर्नेहरू बढारिइरहेका छन्, लोकतन्त्रवादीले बढारिनुपरेको छैन । तसर्थ पछिल्लो जनआन्दोलनले निर्दिष्ट गरेका लक्ष्य, जनताले बोकेका आकांक्षा, शान्ति, लोकतन्त्र र स्थायित्व प्राप्तिका लागि गरेका सहमति र सम्झौतालाई इमानदारीसाथ कार्यान्वयन गर्नु सबैको साझा जिम्मेवारी हो । खासगरी यो नै माओवादी पार्टी र नेतृत्वको अग्निपरीक्षा हो ।  
                                                                                                         लेखक कांग्रेस केन्द्रीय सदस्य हुन
                                                                                                           2068/10/10 kantipur

Tuesday, January 17, 2012

शासकीय स्वरूप कुन उचित ?--अर्जुननरसिंह केसी

संसदीय वा कार्यकारी, राष्ट्रपतीय वा दुवैको मिश्रति अथवा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय व्यवस्थामध्ये अबको संविधानमा कुन शासकीय प्रणाली भन्ने सवालमा राष्ट्रको ध्यान केन्दि्रत भएको छ । यो बहसले मर्यादा गुमाएर विवाद बन्ने लक्षण पनि देखाउने गर्दर्ैछ । अमूक व्यक्ति राष्ट्रपति बन्ला भनेर निषेध गर्न कार्यकारी राष्ट्रपतीय व्यवस्था कांग्रेसले नअपनाउने भन्ने खालका हास्यास्पद तर्कले कांग्रेसको प्रतिनिधित्व गर्दैन । सबै शक्तिका बीचबाटै कांग्रेसका नेता अहिले राष्ट्रपति निर्वाचित हुनुभएको र अबका दिनमा पनि त्यो सम्भावना प्रबल रहेको परिप्रेक्ष्यमा कांग्रेसले अन्यथा सोच्नुपर्ने कुनै तुक छैन । शासकीय स्वरूप भनेको बजारबाट उत्तर कोरियाली वा प|mेन्च मोडलको मखुन्डो रोजाइ र खरिद गर्ने जस्तो कुरा होइन । को हुने भन्ने प्रश्नबाट होइन, कस्तो हुने भन्ने प्रश्नमा कांग्रेसले शासकीय स्वरूप निर्धारण गर्नुपरेको छ ।

नेपाली कांग्रेस ग्रामीण र गरिब जनताका लागि राजनीतिक, आर्थिक र सामाजिक न्याय दिने खालको 'मोडल डेमोक्रेसी' चाहन्छ । तसर्थ कमसेकम कांग्रेसले यही मर्म, अर्थ र आशयसहित बहसमा निणर्ायक रूपले प्रस्तुत भएको छ । शासकीय स्वरूप र संरचनाको कसरत गर्दा यसका सम्पूर्ण पक्षलाई वस्तुपरक जनमुखी ढङ्गले पुनः केलाउने बेला आएको छ । केन्द्रको मात्र शासकीय स्वरूपको एकाङ्गी छलफल गरेर हाम्रो जिम्मेवारी पूरा हुँदैन । राज्यको शासकीय स्वरूप कस्तो हुने, स्थानीय सरकारको सशक्तीकरण तथा विकेन्द्रीकरणको सार्थकता कसरी हुन्छ भन्ने दिशामा हाम्रा बहस प्रयुक्त हुनुपर्छ ।

यसबीच जुरिच -स्वीट्जरल्यान्ड) मा गतवर्ष मूलधारका नेपाली राजनीतिका सबै पार्टी प्रतिनिधिहरू भेला भएर शासकीय स्वरूप लगायत विभिन्न पक्षमा सहमति भएको भनी प्रेसले दिएको समाचार आंशिक रूपमा साँचो हो । आफूले बोलेको वा गरेको कुरालाई अवस्था हेरी 'होइन' भन्दै हिँड्ने आफ्नो बानी नभएको प्रतिबद्धता जनाइसकेपछि आफ्नो क्षमताले भ्याएसम्म पालना गर्नुपर्ने नभए विशेष परिस्थिति र अवस्था प्रस्ट गर्नुपर्छ या त्यसबारेको यथार्थबारे प्रस्ट हुनुपर्छ भन्ने मेरो मान्यता हो । जालझेल र झुटबाट समस्या समाधान हुँदैन । 'जुरिच छलफल' परामर्शदात्री तथा सुझावमुखी स्वरूपमात्र हो । त्यसमा न पार्टीको संस्थागत प्रतिबद्धता छ, न सहमतिकर्ताहरूको हस्ताक्षर । पार्टीका लागि यो सिफारिस हो, बाध्यकारी होइन । ४५ दिने कार्यतालिकासहितको सो सहमतिमा १. शान्ति प्रक्रियालाई पूर्णता दिने, २. बहुलवादसहितको संविधानका आधारभूत सिद्धान्तबारे, ३. शासकीय स्वरूप र ४. राज्य पुनर्संरचनाका आधारसहित प्याकेजमा सहमति भएकै हो । तर त्यो नै सम्झौता होइन, सुझाव हो, समझदारी हो र 'सहमतिको प्रस्ताव' -ननपेपर) हो ।

त्यो कार्यतालिकाअनुसार अन्य बुँदाहरूले सार्थकता पाएर शासकीय स्वरूपको विवादमा अल्भिmएको भए त्यो हामी कांग्रेसका सहभागीहरूका लागि पार्टीभित्र सो 'सहमतिको प्रस्ताव' कार्यान्वयन गर्ने विशेष नैतिक दायित्व रहन्थ्यो नै । तर प्याकेजमा कार्यान्वयन गर्नुपर्ने त्यसका विभिन्न सहमतिमध्ये अन्य सबै बुँदालाई उपेक्षा गरेर शासकीय स्वरूपको मात्र चर्चा हुनु मिश्रति प्रणालीका पक्षमा गरिएको वकालतमा निहित एउटा अवाञ्छित नियतको द्योतक हुनपुगेको छ । जुरिच छलफलका निष्कर्षहरूलाई मानेको भए त्यसमा 'संघीयताका सम्बन्धमा' उल्लिखित बुँदा नं. ५.२.१ ले भन्छ, 'राज्यको समग्र आर्थिक अवस्था, प्राकृतिक साधनस्रोतको उपलब्धता, आर्थिक सम्भावयता, जनसंख्या, भूगोल र पहिचानको स्थितिलाई समेत विचार गरेर उपयुक्त संख्यामा प्रादेशिक इकाइहरूको गठन गर्ने ।' त्यसैको दोस्रो उपबुँदामा भनिएको छ, 'प्रत्येक संघीय इकाइ मिश्रति जातीय र सांस्कृतिक स्वरूपका हुन्छन् भन्ने कुरा सुनिश्चित गर्ने ।' शासकीय स्वरूपबारे जुरिच छलफललाई सनासो बनाउन खोज्नेले यी प्रतिबद्धतालाई किन उपेक्षा गरे ? वास्तवमा जुरिच छलफल माओवादीले नै लत्याएको र म्याद गुजि्रएको ओखतीजस्तो हो । अब त्यसैलाई आधार मानिरहन सकिन्न । लोकतन्त्रका सारभूत विषयमा सहमति भएमा शासकीय स्वरूपका विकल्पमाथि छलफल गर्न सकिन्छ । तर नेपालको समग्र परिस्थितिमा संसदीय लोकतन्त्र नै उत्तम विकल्प हाम्रो मान्यता हो  ।  

विस्तृत शान्ति सम्झौता भए यताका पाँच वर्षमा देशभित्रका विभिन्न रिसोर्टका साथै श्रीलङ्कादेखि अमेरिकासम्म, बेलायत र स्केन्डेनेभियन मुलुकदेखि दक्षिण अपि|mकासम्म यस्ता अनेकौं सुझाव, परामर्श तथा सिफारिस बैठक, समझदारीपत्रहरू बनेका छन् । यस्ता दर्जनौं कार्यक्रममा म सहभागी भएको छु । नेपालमा विद्यमान चुनौतीका पक्षहरू र राजनीतिक सहमतिको विषयलाई लिएर अमेरिकाको बोस्टन सहरमा २०६७ असार ११ गतेदेखि नौ दिनसम्म 'बोस्टन सहमति तथा राज्य-निर्माण कार्यक्रम' विषयक उच्चस्तरीय प्राज्ञिक सम्मेलन भएको र त्यसमा काङ्ग्रेसबाट म लगायत नेकपा एमाले, एनेकपा माओवादी, तमलोपाजस्ता विभिन्न सात दलका नेताहरू सहभागी भएको र कतिपय सहमति भएको तथ्य कसैले प्रकट गरेनन् । सम्झौता, सहमति र समझदारीका सन्दर्भमा भन्ने हो भने माओवादी अध्यक्ष पुष्पकमल दाहालले, 'नेपाली कांग्रेस गणतन्त्र स्वीकारोस्, हामी जनमुक्ति सेनालाई तुरुन्त विघटन गरिदिन्छौं' भनेको वचन कहाँ गयो ? सुरक्षा तथा लडाकु समायोजनसम्बन्धी विशेष समितिका सदस्यहरू सुरक्षा रणनीति तथा परामर्शका लागि अमेरिका गएकै हुन्, यता समितिको बैठकमा कोरम नपुगेर धेरैपटक स्थगित भएकै हो । तर यसमा भएको सहमति के भयो त ? यस्तो परिवेशमा शासकीय स्वरूपका बारे जुरिच छलफललाई मात्र किन बारम्बार उछालिँदैछ ?     

२०६२-६३ को जनआन्दोलनको तार्किक विसर्जन संसद पुनःस्थापनाका रूपमा भयो र जनआन्दोलनले संसदीय व्यवस्थाको प्रस्थानविन्दु र दिशा लियो । माओवादीले संसदीय व्यवस्थालाई समाप्त पार्न १० वर्षसम्म हतियार उठाएर अन्धाधुन्द प्रहार गर्‍यो । तर 'राज्य र विद्रोही' भन्ने 'दुई पक्ष'को अन्त्य विस्तृत शान्ति सम्झौताले गर्‍यो भने उसलाई लोकतान्त्रिक वैधानिकता तत्कालीन पुनःस्थापित संसदले नै दिएको हो, संसदमा प्रमुख विरोधी दलको हाराहारीमा मनोनीत सदस्य राखेर । अहिले पनि उनीहरूभित्रको फाटोमा टालो हाल्ने प्रयास सत्ता र संसदतिरबाट गर्न खोजिँदैछ । जहाँसम्म नेपाली कांग्रेसको कुरा छ, संविधानसभाको निर्वाचन घोषणापत्र, महासमिति बैठकका निर्णयहरू, बाह्रौं महाधिवेशनमा पारित प्रस्ताव र संवैधानिक समितिमा प्रस्तुत संविधान निर्माणका बारेका अवधारणाले स्पष्ट रूपमा संसदीय व्यवस्थाकै पक्षमा प्रतिबद्धता राखेको छ । यसमा हाम्रो कहीं विचलन आएको छैन ।

प्रस्टै छ, लोकतन्त्र निर्विकल्प हो, तर शासकीय व्यवस्था निर्विकल्प हुँदैन । संसदीय व्यवस्थामा जति दोष देखाइएको छ, त्योभन्दा बदनामपूर्ण दोष पूर्वाग्रह राखेर देखाइन्छ भने संसदीय व्यवस्थाको के दोष ? वास्तवमा विद्यमान राजनीतिक कमी-कमजोरी र विसङ्गतिहरू संसदबाट निःसृत भएर पार्टी र समाजमा पुगेका होइनन् । बरु पार्टीहरूबाटै निःसृत भएर संसदीय अभ्यास र संसदसम्म 'प्लेग'झैं फैलिएको तीतो यथार्थ हामी स्वीकार्न नहिच्किचाउँ । पार्टीहरू बीचका कमी-कमजोरी र राजनीतिक विसङ्गतिको दोष संसदीय पद्धतिले पाउनु हुँदैन । सत्ता र शक्तिका लागि राजनीतिक प्रणालीको दुरुपयोग गरिन्छ र संसदीय प्रणालीका स्वाभाविक कमजोरीलाई निराकरण र सुधार गर्नुको सट्टा त्यसैबाट आफू भाग्यमानी हुने अवसरका रूपमा लिई कमजोरीबाट लाभ लिने छिद्र खोज्दै हिँड्ने हो भने त्यस्तो प्रवृत्तिका लागि संसदीय व्यवस्था कसरी दोषी हुन्छ ?

आज ७ बुँदे र ६ बुँदे सहमतिहरूको विजोग स्थिति छ । शान्ति प्रक्रिया ओझेलमा पार्ने वा पछाडि धकेल्ने षड्यन्त्र भइरहेको छ । यसबाट माओवादीहरू लोकतन्त्र र शान्ति प्रक्रियाको आवरणमा हतियार र लडाकुको मोहबाट मुक्त भएका छैनन् भन्ने देखिन्छ । अन्तरपार्टी तथा आन्तरिक पार्टीको विषयमा समेत कथनी एकातिर करनी अर्कैतिर भइरहेको अवस्थामा झन् जटिलता र अविश्वास बढाएको छ । हाम्रा विसङ्गति र कमजोरी निर्णयका आधार बनेर मुलुकमा खडा भएका

छन् । उदाहरणका लागि राज्यको आफ्नो कुनै धर्म हुँदैन भन्ने मान्यतामा धर्मनिरपेक्ष राज्यको घोषणा भयो, ठीक छ, तर धर्मले उब्जाएको जाति प्रथालाई वरण गरेर जातीय राज्यको स्थापना गर्नु कस्तो अग्रगमन हुने हो ? जातिहरूले राष्ट्र खोजिरहेका छन्, तर उनीहरूलाई उत्तेजित गर्न खोजिँदैछ, जातीय राज्य बनाएर ! यस्ता विसङ्गतिको बीउ रोप्दै जाने अनि त्यसका दुष्परिणामको दोष व्यवस्थालाई दिँदै जाने हो भने कुनै पनि व्यवस्था हाम्रालागि उपयुक्त नहुने खतरा आउन सक्छ ।

हामी राजनीतिक सफलताको सिँढी चढ्दै संसदीय व्यवस्थालाई पछाडि छोड्दै कार्यकारी राष्ट्रपतिको खोजीमा पुगेका होइनौं, पार्टीहरूका कार्यशैलीलाई यथावत् राखेर अनिश्चित प्रयोगतिर लम्किरहेका छौं । हुकुमी शासनको स्थानमा हैकमी शासन स्थापना गर्ने कसरतमा जानेर वा नजानेर फँस्ने खतरामा पुग्दैछौं । आज अरब राष्ट्रमा तानाशाह बनेका 'कार्यकारी राष्ट्रपति'हरूको क्रूरतापूर्ण शासनबाट मुक्ति खोज्ने जनआन्दोलन भइरहेको छ र लाखौंको नरसंहार र दमन भइरहेको छ । सद्दाम हुसेन 'कार्यकारी राष्ट्रपति' नै थिए, जसले सत्ताबाट भाग्दै गर्दा तीनवटा ट्रकमा लादेर मुलुकको अमेरिकी डलर सञ्चिति पनि लिएर गएका थिए । कार्यकारी राष्ट्रपतिको एउटा मोडल उत्तर कोरिया र क्युबामा देखिँदैछ, जहाँ राष्ट्रपति पद वंशानुगत वा जहानियाँ भइरहेको छ । इजिप्टका होस्नी मुबारक, ट्युनिसियाका बेन अली, उगान्डाका इदी अमिन, फिलिपिन्सका मार्कोस, चिलीका पिनोसे आदि सबै 'कार्यकारी राष्ट्रपति' नै थिए । यी उदाहरण हुन्, उदाहरण प्रमाण हुँदैन, तर उदाहरणले हामीलाई भयभीत र सतर्क बनाएकै छ, पाठ सिकाइरहेको छ । एकैदिन स्वतन्त्र भएका भारत र पाकिस्तानमध्ये भारतमा लोकतन्त्र र संसदीय व्यवस्था भएकै कारणले सैनिक 'कू'को परिकल्पनासमेत

भएन । तर पाकिस्तान सेनाले गरेको सत्ताकब्जा र स्वघोषित राष्ट्रपति बन्ने परम्पराबाट आक्रान्त छ । हिजोआज फेरि त्यहाँ सेनाले सत्ताकब्जा गर्ने खतरा देखापर्दै गर्दा प्रधानमन्त्री युसुफ रजा गिलानीले 'संसदले संसदीय व्यवस्था र तानाशाहीमध्ये एउटा रोज्ने बेला आएको' भन्नुमा गम्भीर अर्थ छ ।

नेपालले असीमित अधिकार बोक्ने राष्ट्रपतीय प्रणाली अपनाउँदा लोकतन्त्र सुदृढ र राजनीतिक स्थिरता बनाउनलाई होइन, 'सम्पूर्ण सत्ताकब्जा गर्ने' प्रयत्न सुनिश्चित हुने ठानिएको हुँदो हो । कतिपय 'बाहिरियाहरू' दसतिर सम्पर्क राख्नुभन्दा एउटै कार्यकारी संस्थासँग व्यवहार गर्दा सजिलो हुने अभीष्ट पूर्तिका लागि प्रयत्नरत हुनन् । उनीहरूलाई यहाँ सुशासन, शान्ति, सर्वमान्य संविधान, लोकतन्त्र र सामाजिक न्यायजस्ता कुरासँग भन्दा आफ्नो राष्ट्रिय स्वार्थर्सँग ज्यादा सरोकार रहेको हुनसक्छ  । अमेरिकामा राष्ट्रपतीय प्रणाली सफल बनाउनमा शिक्षा, सञ्चारमाध्यम, नागरिक समाज, सयौं वर्षको लोकतान्त्रिक अभ्यासको इतिहास रहेको छ । अमेरिकी परिवार तथा समाज स्वयम् नै गणतान्त्रिक छ, त्यो समाज राजतन्त्रबाट गणतन्त्रमा संक्रमण गरेको होइन । अतः अमेरिकी राष्ट्रपतीय प्रणालीको नक्कल गर्ने अवस्थामा हामी पुगेका छैनौं ।

कार्यकारी राष्ट्रपतीय व्यवस्थालाई अलोकतान्त्रिक भन्न कदापि खोजिएको होइन । तर एक व्यक्तिमा शक्ति केन्दि्रत हुँदा दलहरू बढी जनउत्तरदायी, लोकपि्रय, दक्ष र सशक्त बन्न पाउँछन् भन्ने आधार छैन । नेपालजस्तो धार्मिक, सांस्कृतिक, भाषिक, जातीय र क्षेत्रीय विविधता भएको मुलुकमा 'समावेशी लेाकतन्त्र'लाई सार्थक बनाउन र सबै जाति वा वर्गको प्रतिनिधित्वका लागि उन्नत र आधुनिक संसदीय पद्धति तुलनात्मक रूपमा उपयुक्त हुन्छ । कार्यकारी प्रधानमन्त्रीसँग प्रत्यक्ष सम्बन्ध, नियन्त्रण र निर्देशन गर्न संसद र त्यसभित्रका विभिन्न दबाब समूहहरू, 'ककस'हरूको निरन्तर प्रभाव र दबाब हुने हुँदा यो व्यवस्था अझ बढी संयोजनकारी र राष्ट्रिय सहमति निर्माणमा सशक्त हुन्छ । नेपालको इतिहासको प्रायः सबै कालखण्ड निरङ्कुशतन्त्र र अधिनायकी शासनमा बित्यो । यो त्रासदीबाट हामी अझै झस्किएका

छौं । एक व्यक्तिमा शक्ति केन्दि्रत शासन भविष्यको लोकतन्त्रमा चुनौती हुन्न भन्न सकिन्न । तसर्थ लोकतन्त्रमाथि खतरा उत्पन्न गर्ने कुनै पनि कारकतत्त्व हामीलाई मान्य हुँदैन ।

संसदीय व्यवस्था निरन्तर गतिशील तथा समसामयिक सुधार तथा परिमार्जन गर्दै लैजाने उदार लोकतान्त्रिक तथा लचिलोे व्यवस्था हो । विश्व बैंकद्वारा सन् २००४ मा गरिएको एक विस्तृत अध्ययनले तुलनात्मक रूपमा संसदीय व्यवस्था कम भ्रष्टाचार वा अख्तियार दुरुपयोग कम हुने व्यवस्था भनी देखाएको छ । तर अर्कोतिर 'राष्ट्रपतीय प्रणाली' अपनाउने तेस्रो विश्वका कुनै पनि मुलुकले 'कू' वा संवैधानिक अस्तव्यस्तता नभोगी लोकतन्त्रतर्फ संक्रमण गरेको पाइँदैन भने नेपाल कसरी अपवाद बन्न सक्ला र ? निहित स्वार्थको प्रयोग र अनुभवका लागि मुलुकलाई अनिश्चित शासनको प्रयोगशाला वा बन्धक किन र कहिलेसम्म बनाइरहने ? गणतन्त्र स्थापना गर्ने बेलामा हामीले २४० वर्षदेखिका समस्या र बाधा-व्यवधान गणतन्त्र आएपछि हट्छन् भनेका हौं । व्यवस्थाको खोजी र प्रयोगमै समय खेर फाल्ने हो भने हाम्रा सम्पूर्ण वचनहरू पनि खेर जाने अवश्यम्भावी छ ।

मुलुकले संसदीय व्यवस्थाका गुण र दोष राम्ररी चिनिसकेको छ । जनताले संसदीय व्यवस्थालाई होइन, पार्टीहरूलाई दोष दिइरहेका छन् । पार्टीहरू संसदीय चुनावका लागि टिकट घरजस्तो मात्र नहोउन्, निर्वाचनपछि आफ्ना विजयी वा पराजित उम्मेदवारको उपयुक्त भूमिकाका लागि संस्थागत क्रियाशीलता पार्टीहरूले देखाइरहुन्, उम्मेदवारको निश्चित योग्यता तय गरेर, निर्वाचन प्रणालीमा धाँधली र पैसा आदि अवैध साधन परिचालन हुने परिपाटीको पूर्णतया अन्त्य गरेर, सत्ताका अनेक अपवित्र गठबन्धन वा घृणित खेल र षड्यन्त्र हुने सम्भावनालाई हटाएर, सरकारलाई बढीभन्दा बढी जनउत्तरदायी र स्थिर बनाउने हैसियत दिएर, संसदीय प्रक्रियामा देखापरेका कमजोरीजन्य सबै छिद्रलाई टालेर, मुलुकमा दण्डहीनताको अन्त्य गरी सुशासनको प्रत्याभूति दिने जनताको साझा शक्तिकेन्द्रका रूपमा संसदीय व्यवस्थाको परिमार्जन र सुधार गरिएमा त्यस्तो संसदीय व्यवस्थाले निश्चय नै आजका सबै राष्ट्रिय आवश्यकताहरूको परिपूर्ति हुने आधार तयार गर्नेछ । कार्यसम्पादनमा गुणात्मक विकास नगर्ने तर साधन वा औजारमात्र फेरिरहने हो भने कुनै व्यवस्था पनि सार्थक र लोकपि्रय हुनसक्दैन भन्ने पाठ हामीले आफ्नै अनुभवबाट लिनु वेश हुन्छ ।                                                    

                                                                                        लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् 
                                                                                            प्रकाशित मिति: २०६८ माघ ३ ०८:५३