Friday, November 09, 2012

विस्मृतिमा सुवर्ण--------------- दिनेशचन्द्र थपलिया





नेपाली कांगे्रसभित्र सुवर्ण शमशेरको योगदानबिस्तारै अेाझेलमा पर्दै गएको छ । समकालीन अवस्थामा सुवर्ण शमशेरको योगदान निकै सान्दर्भिक छ । राजनीतिक चेतना र सुझबुझका कारण राजनीतिक संगठन बिना निरंकुश राणाशासनको अन्त गरी प्रजातन्त्र स्थापना गर्न सकिंदैन भन्ने उनको बुझाइ थियो । त्यसकारण उनले २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसमा सहभागी नभई सशस्त्र संघर्षको मूल उद्देश्य लिई २००५ सालमा नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना गरेका थिए । उनकै दलले जनमुक्ति सेना गठन गर्ने र हतियार संकलन गर्ने कार्यलाई प्राथमिकता दिएको थियो ।

राणातन्त्रलाई समाप्त पारेर देशमा प्रजातन्त्र स्थापना गर्न सशस्त्र क्रान्ति आवश्यक रहेको ठहरमा नेपाली राष्ट्रिय कांग्रेस  र नेपाल प्रजातन्त्र कांग्रेस नजिक हुँदै गए । अन्ततः २००६ को चैत २७ गतेदेखि कलकत्तामा दुबै दलको संयुक्त अधिवेशन बोलाइयो । त्यही अधिवेशनले दुई दलको एकीकरण गरी विधिवत रूपमा नेपाली कांग्रेसको गठन गर्‍यो । अनि नेपाली कांग्रेस पूर्णरूपले सशस्त्र क्रान्तिको तयारीमा जुट्यो । २००७ असोज १० र ११ गते भारतको बैरगनियामा सम्पन्न नेपाली कांग्रेसको सम्मेलनले सशस्त्र क्रान्ति गर्ने निर्णयलाई विधिवत अनुमोदन गर्‍यो । २००७ कात्तिक ५ र ६ गतेको मध्यरातमा जनमुक्ति सेनाले वीरगन्ज कब्जा गर्‍यो । २००७ फागुन ७ गते देशमा प्रजातन्त्रको घोषणासंँगै गठन भएको संयुक्त सरकारमा सुवर्ण शमशेर अर्थमन्त्री थिए । प्रजातन्त्रको स्थापनापछि सर्वप्रथम २००८ माघमा अर्थमन्त्रीको हैसियतले उनले नै पहिलो बजेट प्रस्तुत गरेका थिए ।

२०१२ माघमा वीरगन्जमा सम्पन्न महाधिवेशनले सुवर्ण शमशेेरलाई सभापतिमा निर्वाचित गर्‍यो । २०१५ सालको पहिलो आमचुनावमा १०९ स्थानमध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल गरेको थियो । त्यसमा सुवर्णले बाराको मध्यउत्तर क्षेत्र नं. ५२, पर्साको पूर्व क्षेत्र नंं. ५३ र गुल्मीको दक्षिण-पश्चिम क्षेत्र नंं. ९१ समेत तीन ठाउँबाट चुनाव जितेका थिए । चुनावपछि राजा महेन्द्र सुवर्ण शमशेर प्रधानमन्त्री बनुन् भन्ने चाहन्थे । यस्तो चर्चा चलिरहँदा बीपी कोइरालाले उनलाई प्रधानमन्त्रीका लागि 'अफर' पनि गरे, तर सुवर्णले उक्त प्रस्ताव स्विकारेनन् । २०१६ बैसाख १ गते सुवर्ण शमशेरकै ललिता निवासमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति, संसदीय समिति र प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको संयुक्त बैठक बस्यो । बैठकमा सुवर्ण शमशेरले संसदीय दलको नेतामा बीपी कोइरालाको नाम प्रस्ताव गरेपछि गणेशमान सिंहले त्यसको समर्थन गरे । त्यसपछि संसदीय दलको उपनेतामा गणेशमान सिंहले सुवर्ण शमशेरको नाम प्रस्ताव गरे । २०१६ जेठ १३ गते बीपीले पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा सपथ लिने अवसर पाए । उक्त मन्त्रीमण्डलमा सुवर्ण शमशेरले उपप्रधानमन्त्रीका साथै अर्थ, आयकर र योजना विकास मन्त्रीको कार्यभार सम्हालेका थिए । सोही साउन २५ गते उनले वाषिर्क बजेट पेस गरे । २०१६ चैत ३० देखि सुवर्णले नै भारु १०० को नेरु १६० विनिमय दर कायम गराएका थिए । नेपाली कांग्रेसको जननिर्वाचित सरकारको गठनपश्चात २०१६ असार २७ गते त्रिभुवन विश्वविद्यालय ऐनको तर्जुमापश्चात सुवर्ण शमशेर उक्त विश्वविद्यालयको पहिलो उपकुलपति बने ।

२०१७ पुस १ गते राजा महेन्द्रले सैन्यबलका आधारमा शासन हत्याउँदा उनी देशबाहिर थिए । सोही माघमा भारतको पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाएका थिए । सम्मेलनले 'यो तुफान आउनुभन्दा अघिको शान्तिमात्र हो' भन्ने निष्कर्ष निकाल्दै प्रजातन्त्र पुनःस्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गर्‍यो । महेन्द्र नेतृत्वको निर्दलीय सरकारले सुवर्णको भव्य ललिता निवास जफत गर्‍यो । बालुवाटारस्थित उक्त निवासमा अहिले राष्ट्रबैंक रहेको छ । राजाको तानाशाही बढेपछि कांग्रेसका धेरै कार्यकर्ता भारत प्रवासमा जान बाध्य भए । तिनको विदेशी भूमिमा बिचल्ली हुनथालेपछि सुवर्णको काँधमा फेरि तिनको भरणपोषणको थप दायित्व पनि पर्‍यो । तर त्यसलाई उनले राम्रैसँग व्यवस्थापन गरे । त्यतिमात्र होइन, २०१८ सालको सशस्त्र क्रान्तिका लागि उनले कलकत्ताको आफ्नो निजी सम्पत्ति र घरसमेत बिक्री गर्नुपर्‍यो । ८ वर्षको निर्वासित जीवनपश्चात २०२५ सालमा उनी स्वदेश फर्के । जुन बेला बीपी, गणेशमान लगायत नेता/कार्यकर्ता पनि मेलमिलापको नीति अन्तर्गत नेपाल फर्केका थिए ।

२००७ सालमा प्रजातन्त्र स्थापना र २०१८ सालमा राजाद्वारा अपहरित प्रजातन्त्र पुनःस्थापनाका निम्ति उनी सशस्त्र क्रान्तिको नेतृत्व तहमा रहेर भूमिका निर्वाह गरेका थिए । त्यसपछि बीपी र उनीबीच पार्टी सञ्चालनबारे छलफल भयो र २०३४ कात्तिकमा पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाइयो । त्यही सम्मेलनले किसुनजीलाई सभापतिमा चयन गर्‍यो  । त्यसै महिनाको २४ गते सुवर्ण शमशेर जबराको कलकत्तामा निधन भयो ।

खान्दानी सुखसयललाई त्यागी प्रजातन्त्रका लागि संघर्षशील सुवर्ण शमशेरले जीवनको अन्त्यसम्म सिद्धान्त र निष्ठाको राजनीति गरे । उनले राष्ट्र र पार्टीलाई जतिसक्दो मन-धन दुवै दिए, तर पार्टीले भने आफ्नै सभापतिलाई सम्झनेसम्म गरेन । कांग्रेसको इतिहासमै अति महत्व राख्ने वीरगन्ज महाधिवेशनले समाजवादी सिद्धान्तलाई अनुमोदन गर्दा सुवर्ण शमशेर सभापतिमा चुनिएका थिए । तर आज तिनै पार्टीका पूर्व सभापतिलाई भुल्नु भनेको कांग्रेसले आफैंलाई भुल्नु हो ।

नेपालि काग्रेशका सस्थापक नेता तथा पुर्ब सभापती सुबर्ण शम्शेर् राणा को ३५ औ स्मृती दिवसमा प्रकाशित,मिति: २०६९ कार्तिक २५, कान्तिपुर दैनिक         (http://ekantipur.com/kantipur/news/news-detail.php?news_id=283449)